कथामा फर्कनुहोस्

कथा · २०२६ अगस्ट २६

कलेजी स्वीटर : एक प्रेम कथा

कलेजी स्वेटर

आज बिहानैबाट कोनी के सुर चढ्यो मेरो नातीलाई । बिकामे लुगाफाटा जति, सबै फ्याकेर लगाउन लायक मात्र राख्छु भन्दै दराज खोतलीरहेको छ । देख्छु , दराज छेउमा फ्याक्ने लुगाको एउटा ठूलो पहाड छ । निकै लुगा रहेछन् क्यार त्यती निकाली सक्दा पनि अझै पनि दराज खोतलीरहेकै छ । उमेरले नब्बे भेट्न आँटे पनि मेरा आँखा, चीजबीज अझै ठम्याउँन सक्ने नै छन् । नातीले बनाएको फ्याक्ने लुगाको पहाडको चुचुरोमा एउटा कलेजी स्वीटर देखेँ । छेउमा गएँ र, एकपल्ट ओल्टाइ पल्टाइ हेरेँ ।

बुढो भएँ, सबैथोक याद रहँदैन , दुई बर्ष अघि जस्तो लाग्छ एकदिन मेरी नातिनी बुहारीले करैले नातीलाई बजार लिएर गएकी थिइँ । “झत्ते मात्रै छन् तपाईका लुगा त” केटा मान्छेलाई राम्रो भएर हिड्न मन लाग्दैन कि के हो ? भन्दै नातीलाई बजार लगेको याद छ मलाई । दिन भर बजार घुमेर यही कलेजी स्वीटर किनेर ल्याएका थिएँ । हेर्नु त बुबा तपाईको नातीलाई यस्को पनि रंग मनपरेन अरे भन्दै देखाएकी थिइँ मलाई नातिनी बुहारीले त्यस दिन । कति चाँडै फ्याक्नु पर्ने भइसकेछ त्यो स्वीटर ।

के बुनिरहेकी बिना ? अफिसबाट घर फर्कदा , हातमा कुरुस लिएर गुलाबी धागोले केही बुनिरहेकी मेरी बुढीलाई सोधेको थिएँ । लजाउँदै भनेकी थिइन् तपाईलाइनै स्वीटर बुनिरहेकी । त्यसबेला यो नातीको बाउ उसको गर्भमा थियो । धेरै जान्ने त होइन बिना स्वेटर बुन्नलाई, दुई जिउकी भएको बेला यसो मन बहलाउन सजिलो हुन्छ भनेर स्वीटर बुन्न थालेकी थिइन् । एक महिना जति लगाएर अन्तिममा उनले स्वेटर बुनेरै छाडिन् । तर दाहिने पट्टीको काखीमा अलिकति साधुरो भएछ । मलाई लगाउनु भनेर गुलाबी स्विटर मेरो हातमा थमाइदिइन् , लगाएँ । काखी चेपेको त थियो तर कसैले त्यती माया गरेर बुनिदिएको स्विटर यस्तो भयो उस्तो भयो भन्न मन लागेन । दङ्गै परेको थिए नयाँ स्वीटर पाएर ।

अप्ठ्यारो भए पनि बेला बेला लगाइरहन्थेँ त्यो स्वीटर , बिनाको मन दुखाइदिन मन लाग्दैनथ्यो । चाहेको भए अलिक असजिलो भयो मलाई यो स्वीटर भन्न सक्थेँ , तर बिनाले मलाई स्विटर दिँदा उनको आँखामा भरिएका हर्षका आँसु सम्झन्थेँ , अनि बोली फुट्दैनथ्यो । कहिले काँहि दिउँसो अफिसमा सारै अप्ठ्यारो हुँदा स्वीटरलाई कुर्सीमा राख्थेँ अनि बेलुका घर फर्कदा लगाएर आउने गर्थेँ । निकै बर्ष सम्म त्यसरीनै त्यो स्वीटर लगाएपछि एकदिन उसैले कति लगाउनुहुन्छ त्यही एउटा स्वीटर भनेर भनेकी सम्झन्छु । त्यसपछि भने त्यो स्वीटर दराजमै बसिरहेको छ । बेला बेला बिनाको सम्झना आउँदा झिकेर ओल्टाइ पल्टाइ हेर्छु, सुगन्ध थाहा नपाउने नाकले सके सम्म त्यसको सुवास लिन खोज्छु । ७ बर्ष अघि सम्म म बिना सँगै थिइन् । अब उनका सम्झना मात्र छन् । दैवले उनलाई अलिक छिट्टै निम्ता दिइ हाले । म आफ्नो निम्तो पर्खिरहेको छु । तयार भएर मात्र पनि नहुँदो रहेछ, कतै जानलाई कसैले निम्त्याउनु पनि पर्ने रहेछ ।

अस्ति कहिले पो हो एकदिन , दराजबाट स्वीटर झिकेर लगाएको पनि थिएँ । पहिलो जस्तो काखी चेप्न छोडेछ , बुढो भएर शरीर सुकेकाले होला खुकुलो पनि भएछ । हुन त मान्छे सधै उस्तै पो कहाँ रहन्छ र ? स्वीटर खुकुलो भए पनि मन गाँठो परेर सकस भयो , धेरैबेर लगाइराख्न सकिन । त्यसपछि फेरि किन हफ लगाउँने आँट गर्न सकेको छुइँन । कति कुराहरु आफैलाई पनि बुझाउन साह्रो पर्दा रहेछन् ।

सम्झन्छु पुराना दिन, जब म त्यही स्वीटर लगाएर अफिस जान्थे । हरेक दिन आफ्नो शरीरको थोर बहुत बास्ना त्यहाँ फसाएर ल्याउँथे । उमेरका कति दिन गुज्रिएका छन् त्यस स्वीटरसँग ।हरदिन लगाएकाले त्यो स्वीटरबाट मेरै बास्ना आउनु पर्ने हो तर अस्ति लगाउँदा स्वीटरबाट बिना बास्ना आइँन् । आफ्नो वास्ना आफैँ सुध्न सक्छ मान्छे ? यदि सक्ने भए म भन्न सक्थे होला, म आँफै आफु बास्ना आउँछु कि बिना । अब अरु कसैलाई सोधौँ भने पनि कसरी भन्न सक्लान् र उनीहरुले । कसैलाई मेरी बिनाको वासना म जसरी याद नहुन पनि त सक्छ । दिमाग बुढो भएर होला अचेल यस्तै यस्तै नचाहिदो कुरा सोचेर बस्न थालेको छु । अनौठो छ मान्छेको जात पनि , केही बर्ष अगाडि जब बिना मसँग थिइन् यी सबै कुरा मलाई यसरी याद हुँदैनथे ,म त अरुनै के के जाती सोचेर बस्थेँ । त्यस बेला म सँग बिना थिइन् , मेरै आँखा अगाडि । जब उनले छाडेर गइन् , मलाई उनका सम्झना दिलाउने हरेक चीजहरु प्यारा लाग्न थाले । एक्लै मलाई समय कटाउन साह्रो पर्छ भनेर होला , अनेकौँ चीज छाडेर गएकी रहिछन् , एक एक गरि बिस्तारै भेटिरहेको छु ती कुराहरु मैले ।

नातीको स्वीटर र बिनाले मलाई बुनिदिएको स्वीटरको रँग एकैनासको छ। फ्याक्न लागेको नातीको स्वीटर नत्र ओल्टाइ पल्टाइ हेर्न मलाई कुनै आवश्यकता थिएन । बुढेसकालमा सम्झनाको निकै माया हुने रहेछ , तिनै मात्र आफ्नो सम्पति हुँदा रहेछन् । अब नयाँ सम्झना बनाउन रहन्छ नै के र यो उमेरमा ,त्यसैले होला आफुसँग जे छ त्यसलाई जोगाउन खोजिरहेको हुँदो रहेछु ।

नातीको स्वीटर हातमा लिएर टोलाएको देखेर होला नातिनी बुहारीले सोधी , के हेर्नु भएको बुबा त्यसरी ?

बिनाको सम्झनामा डुबी रहेको थिएँ , उसको आवाजले झसङ्ग भएँ । ए !!! , यो नातीको र तिमेरकी हजुरामाले मलाई बुनिदिएको स्वीटरको रंग उस्तै रछ । म त मेरै पो रछ कि भनेर हेरेको नी ।

हजुरबा पनि के सारो हो , अब गएका मान्छेलाई यसरी सम्झँदै टोलाएर कहाँ हुन्छ र ? दराजको ढोका लगाउँदै नातीले भन्यो ।

सानै छस् त बज्जे , अब तेरो जस्तो सम्झना बनाउँने उमेर कहाँ छ र मेरो । तेरो जस्तो उमेर भएको भए म पनि आ होस होस् के अल्झनु यस्ता कुरामा भन्थे हुँला । आफु त सम्झना जोगाउने उमेरमा छु । मेरो सम्पति भनेकै सम्झनाहरु मात्रै त हुन । यती भनेर थोतो दात देखाएर मुस्कुराएँ ।

हाम्रा बालाई गफ गरेर कस्ले सक्छ र ? यस्तै गफ सुनेर र होला नि हाम्री हजुरामाले तपाईलाइ मन पराएको । नातीले जिस्काउँदै भन्यो ।

तेरी हजुरामा म भन्दा चौगुना थिइँ गफमा , चिनेकै होस् त तैँले ।

हो हुन त , हासखेल गर्न हजुरबा भन्दा पनि अगाडि हुनुहुन्थ्यो हजुरामा । नातीले लुगा बोरामा हाल्दै भन्यो । रचना अर्को बोरा पनि लेउ त सबै त अटाउला जस्तौ छैन यसमा ।

हातमा बोकी रहेको त्यस्को कलेजी स्वीटर त्यसलाईनै फिर्ता दिएँ । भन्न मन लागेको थियो बुहारीले मायाले किनिदिएको लुगा यसरी नफाल भनेर । त्यसो भन्दा यादै नगरी बसिरहेकी नातिनी बुहारीको मनमा मेरा बुढाले मलाई माया गर्दा रहेनछन् भन्ने भावना आउँला कि भनेर भनिन । यस्ता कुरा प्याच्च भनि पनि हाल्नु हुँदैन । सबैले आफैँ जस्तो सोच्दैनन् । अन्जानैमा पनि अरुको चित्त दुखाउन डराउनु पर्छ ।

नातीले लुगा फाल्न पोको कस्दै थियो , म लौरोको सहारामा आफ्नो कोठाभित्र फर्कीए । डोकाकै छेउको भित्तामा बिनाको फोटो झुण्डाएको छ , त्यसैलाई धेरै बेर हेरेँ र हतार हतार आफ्नो दराज खोलेँ । दराजमा जाडोको लुगा राख्ने पाटोको सबैभन्दा तल्लो भागमा हेरेँ । मेरो गुलाबी स्वीटर त्यही रहेछ , नातीले निकालेको लुगाको पहाड देखेपछि दम बढ्ला जस्तो भएको थियो अलिक सञ्चो भयो । आँखा धेरैनै कम्जोर हुन थालेछन् । अर्को जाडोमा बिनासँग पो भेट जुर्छ कि ?

विजय लुइटेल